४. समस्या र चुनौती
एकीकृत भू–उपयोग नीतिको अभावमा देशको समग्र भूमिलाई उपयुक्त ढंगले उपयोग गरी अधिकतम् लाभ हासिल गर्ने सन्दर्भमा विभिन्न समस्याहरु देखा परेका छन् । भू–उपयोग सम्बन्धी कार्यको प्रभावकारिता अन्तर्निकाय समन्वयमा भरपर्ने हुँदा सोको कमीका कारण क्षेत्रगत नीतिहरुमा भएका व्यवस्थाहरुको र विद्यमान ऐन, कानुनमा भएका प्रावधानहरुको समेत प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अव्यवस्थित र अनियन्त्रित शहरीकरणका कारण खेतीयोग्य जमीनमा संकुचन आइरहेको छ भने सरकारी तथा सार्वजनिक जग्गामाथि विभिन्न नाममा अतिक्रमण बढदै गएको छ । भूमिको सही ढंगले उपयोग गरी अधिकतम लाभ लिन सकिएको छैन । जग्गामा भईरहेको अनियन्त्रित खण्डीकरणले कृषि उत्पादनमा ह्रास आइरहेको छ । उपयुक्त नीतिको अभावमा कृषियोग्य जमिनको गैर कृषि प्रयोजनमा उपयोग हुने गरेकोले उत्पादन र उत्पादकत्वमा वृद्धि हुन नसक्दा खाद्य सुरक्षा र सम्प्रभुतामा प्रतिकुल प्रभाव परेको छ । उल्लिखित समस्याहरु समाधानका लागि उपयुक्त नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आवश्यक भएको छ । यसका लागि सम्पत्तिको रुपमा भूमिको उपयोग गर्ने नेपाली समाजमा रहेको मौजुदा सोचमा परिवर्तन ल्याउने, भू–उपयोग सम्बन्धमा राजनीतिक इच्छाशक्तिलाई सक्रियछ गराउने, भू–उपयोग सम्बन्धी कार्यक्रमलाई कार्यान्वयनको लागि आवश्यक स्रोतसाधन तथा संस्थागत क्षमताको विकास एवम् विस्तार गर्ने, अन्तर्निकाय समन्वयलाई प्रभावकारी बनाउने लगायतका कार्यहरु समस्या तथा चुनौतीका रुपमा रहेका छन् ।